काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वाशिङ्टनस्थित वाशिङ्टन हिलटनमा आयोजित ह्वाइट हाउस पत्रकार डिनरका क्रममा शंकास्पद गोली चलेको आवाजपछि तुरुन्तै सुरक्षाकर्मीले सुरक्षित स्थानमा लगेका छन् ।

कार्यक्रम चलिरहेकै बेला ठूलो आवाज सुनिएपछि हल्ला मच्चिएको थियो । अमेरिकाको गुप्तचर सेवाका एजेन्टहरूले ‘तल बस्नुहोस्’ भन्दै राष्ट्रपतिसहित उच्च अधिकारीहरूलाई बाहिर निकालेको बीबीसीले जनाएको छ ।
घटनामा स्टेफन मिलर, कश पटेललगायत वरिष्ठ अधिकारीहरूलाई पनि सुरक्षित स्थानमा लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार करिब पाँचपटक गोली चलेको आवाज सुनिएको थियो, जसपछि अतिथिहरू टेबलमुनि लुकेका थिए ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार एक शंकास्पद आक्रमणकारी पक्राउ परिसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन । घटनापछि हजारौँ सहभागीहरू अझै हलभित्रै राखिएका छन् ।
राष्ट्रपति ट्रम्पले पछि आफ्नो सामाजिक सञ्जालमार्फत आक्रमणकारी पक्राउ परेको दाबी गर्दै कार्यक्रम जारी राख्ने सुझाव दिएका छन्, तर अन्तिम निर्णय सुरक्षा निकायको सल्लाहमा हुने बताएका छन् ।


