५ जेष्ठ २०८३, मंगलबार 1779251711
Banner

धौलागिरिमा खसेका आरोहीको दुई दिनपछि सकुशल उद्धार

वैशाख १३ गते । म्याग्दीको धौलागिरि हिमाल आरोहणका क्रममा करिब चार सय मिटर तल खसेर गम्भीर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । 

म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोण गरेर फर्किने क्रममा सङ्खुवासभाका २१ वर्षीय मिङ्मा तेन्जि शेर्पा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चारसय मिटर तल खसेर गम्भिर घाइते हुनुभएको थियो । 

 शेर्पालाई शनिबार राती उद्धारकर्मीले सकुशल उद्धार गरी आधार शिविर ल्याएपछि आइतबार उपचारका लागि हेलिकप्टर मार्फत काठमाडाैँ पठाइएको उद्धारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘ हिमाल आरोहण गरेर फर्किने  क्रममा चुचुरो नजिकबाट उहाँ चिप्लीएर चारसय मिटर तल  खस्नुभएको थियो । बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्धारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिवर ल्याएका थियौं । अचेत अवस्थामा भेटिनुभएका उहाँको  स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’’

पर्यटन विभागका अनुसार चालु वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समुहका १२  महिलासहित २८ जनाले अनुमति लिएका थिए । अनुमति लिएका मध्य अधिकांशले हिमाल आरोहण गरेका छन् ।  विभागका अनुसार धवलागिरि आरोहणबाट एक करोड २५ लाख ६० हजार ८ सय पचास रुपियाँ  रोयल्टी संकलन भएको छ ।