१० श्रावण २०८३, आइतबार 1785062357
Banner

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्सए फ्लिन आज चार दिने नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका छन् । उनलाई नेपाली सेनाका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरे ।

आज उनी होटल हायातमा बस्ने छन्। ​ फ्लिनले शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।

त्यसपछि उनी काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उनी शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले आयोजनाको रात्रिभोजमा सहभागी हुनेछन्।

शनिबार बिहान उनीहरु हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। त्यसपछि उनलाई शिवपुरी लगिने कार्यक्रम छ ।

शिवपुरीमा उने नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्बोधन गर्ने छन्। शिवपुरीको भ्रमणपछि आइतबार बेलुका नै उनी स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन्। त्यसको तयारीस्वरुप फ्लिनको भ्रमण हुनलागेको हो।