वैशाख १५ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको सो भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो ।
सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधिको प्रवर्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको सहयोग अपेक्षित रहेको बताउनुभयो । सरकारले अघि सारेको एक सय बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उहाँले राजनीतिक सङ्क्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
सभामुख अर्यालले सङ्घीय संसद्का दुवै सदन, संसदीय समिति र मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने बताउनुभयो । उहाँले सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबिच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबिच सहकार्य अभिवृद्धि गरिने उल्लेख गर्नुभयो ।
भेटमा राजदूत सोङले सभामुख अर्याललाई बधाई दिँदै राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो । उहाँले नेपाल र चीन असल छिमेकी रहेको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजदूत सोङले नयाँ सरकारका सुधार, सुशासन र आर्थिक विकासका प्रयास सकारात्मक रहेको बताउँदै युवा नेतृत्वले नेपालमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ सहयोगमा सङ्घीय संसद् सचिवालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराइएको जानकारी दिँदै उहाँले सभामुख र सांसदहरूलाई चीन भ्रमणको निम्तोसमेत दिनुभयो ।


