१६ बैशाख २०८३, बुधबार 1777480327
फिचर

विश्व औलो दिवस : नवलपरासी पूर्वमा सात जना औलोका बिरामी भेटिए

मध्यविन्दु (नवलपरासी), ११ वैशाखः नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्म सात औलो(मलेरिया)का बिरामी भेटिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का अनुसार चालु आर्थिक वर्षमा भेटिएका ती औलो रोगी भारतमा रोजगारी गरी फर्किएका पुरुष छन् ।

ती बिरामीमध्य भारतसँग सीमा जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा चार रहेका छन् भने हुप्सेकोट गाउँपालिका र गैँडाकोट नगरपालिका एक, एक रहेका छन् । जिल्लामा विगतका वर्ष देखिनै औलो शून्य रहे पनि आयातित(अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी बर्सेनि फेला पर्ने गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताउनुभयो । “भारतमा कामका लागि गएर आफ्नो घर आउने क्रममा औलो रोग पत्ता लाग्ने बिरामी बर्सेनि देखिएको छ,” उहाँले भन्नुभयो, “यहाँ नै औलो लागेको बिरामी भेटिएको छैन ।” नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७७÷०७८ मा तीन, २०७८÷०७९ र २०७९÷०८० मा छ÷छ, २०८०÷०८१ मा चार जना र २०८१÷०८२ मा १० औलोका बिरामी देखिएको थियो । “विगत छ वर्षका सबै केश आयातित नै रहेका छन्, आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती बनेको छ,” उहाँले भन्नुभयो । नेपालमा स्थानीय औलोलाई शून्यमा पुराउन औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट नै यस्ता रोग फैलने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने निरीक्षक तिवारीले बताउनुभयो । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणसहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताउनुभयो ।

औलो रोग लागेमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँले सुझाव दिनुभयो । अप्रिल २५ अर्थात् यही वैशाख १२ गते विश्व औलो दिवस नेपालसहित विश्वभर मनाइँदै छ । यस वर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो संकल्पः सक्षम छौँ, छैन अब विकल्प’ तय गरिएको छ ।

चितवन, १२ वैशाखः जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । दुई हजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार गत आर्थिक वर्षमा आठ हजार ४०५ को औलो परीक्षणका क्रममा ११ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । उहाँले भन्नुभयो, “यहाँ भेटिएका सङ्क्रमित रोजगारीका शिलशिलामा बाहिर गएर आएकाहरूमा देखिने गर्दछ ।” उहाँका अनुसार वैदेशिक रोजगारमा भारत र शान्ति मिसनका लागि अफ्रिकन मुलुकमा गएर फर्किएकाहरूमा यो रोगको सङ्क्रमण देखिने गरेको छ । सीमा आवागमन र श्रम प्रवासमा गएकाहरुबाट औलोको उच्च जोखिम देखिएको किट नियन्त्रक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । जटिल प्रकारको औलो देखिएमा सङ्क्रमितको ज्यानै जोखिममा पर्ने उहाँले बताउनुभयो । सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका रोगहरु शून्यमा पुर्‍याउने योजना सहित काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । किट नियन्त्रक केसीका अनुसार यो रोग लागेमा टाउको दुख्ने, कामज्वरो आउने, जोर्नीहरू दुख्ने, रगतको कमी हुने, शरीर सिथिल हुने, वान्ता हुने, पेट दुख्ने, फियो सुनिने जस्ता लक्षण देखिन्छन् । यस रोगबाट बाँच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, ज्वरो आउना साथ नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्ने, औलो देखिएमा उपचार गर्ने, झ्याल ढोकामा जालिको प्रयोग गर्ने, घर वरिपरि सरसफाइ राख्ने जस्ता उपाय अपनाउन उहाँले सुझाव दिनुभयो । जिल्लामा स्थानीयमा औलोको सङ्क्रमण नभएको उहाँको भनाइ छ ।