२३ बैशाख २०८३, बुधबार 1778053716
Banner

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सञ्चालन

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सञ्चालन सुरु भएको छ । 

गत वर्षाको बाढी र पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा वैकल्पिक र अस्थायी मार्गबाट सवारी साधनहरु कष्टकर रुपमा गन्तव्य पार गर्दै । तस्बिरः प्रकाश सिलवाल/रासस

सोमबार साँझको वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको ललितपुरको वाग्मती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । 

“वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएका केही राजमार्ग मंगलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन्,” उनले भने, “भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।”

इलामस्थित इलाम रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने ४०० बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताए । 

वर्षातको समयमा बाढी र पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । रासस