काठमाडौं । इरानी सेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा रहेको तेल ट्यांकरलाई अमेरिकी सेनाले निसाना बनाएपछि अमेरिकी नौसेनाका जहाजहरूविरुद्ध जवाफी कारबाही गरेको बताएको छ । यो घटनाले वासिङ्टन र तेहरानबीचको कमजोर युद्धविरामलाई थप तनावपूर्ण बनाएको छ ।
इरानको ‘खातम अल–अम्बिया’ केन्द्रीय मुख्यालयले बिहीबार अमेरिकाले युद्धविराम उल्लंघन गर्दै केही क्षेत्रीय देशहरूसँगको सहकार्यमा क्युसम टापुलगायत नागरिक क्षेत्रहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा अमेरिकी सेनालाई आक्रामक, आतंकवादी र लुटेराको संज्ञा दिँदै इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको उल्लेख गरिएको छ ।
इरानले आफ्नो जवाफी कारबाहीबाट अमेरिकी जहाजहरूमा ठूलो क्षति पुगेको दाबी गरेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको नौसेनाले यस कारबाहीमा विभिन्न प्रकारका ब्यालिस्टिक र एन्टी–शिप क्रुज मिसाइलका साथै शक्तिशाली विस्फोटक पदार्थले भरिएका ड्रोनहरू प्रयोग गरिएको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भने इरानको तर्फबाट भएको उत्तेजक आक्रमणलाई विफल पारेको र आत्मरक्षाका लागि मात्र जवाफी प्रहार गरेको बताएको छ । अमेरिकाले आफ्ना कुनै पनि जहाज वा सम्पत्तिमा क्षति नपुगेको स्पष्ट पारेको छ ।
यो भिडन्त इरानका बन्दरगाहहरूमा अमेरिकाले लगाएको नाकाबन्दीविरुद्ध इरानको पहिलो सैन्य प्रतिक्रिया हो । विगत केही हप्तादेखि अमेरिकी सेनाले धेरै इरानी जहाजहरूलाई नियन्त्रणमा लिएको छ । दर्जनौँलाई फिर्ता पठाएको छ । यो नौसैनिक घेराबन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथिको दबाब अभियानको प्रमुख हिस्सा हो ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार क्युसम टापु, बन्दर अब्बास र दक्षिणी तटीय सहर मिनाबका बन्दरगाहहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् ।
वासिङ्टन र तेहरानबीच युद्ध अन्त्यका लागि उन्नत चरणको वार्ता भइरहेको रिपोर्टहरू आएको समयमा यो सैन्य भिडन्त भएको हो । यसै हप्ताको सुरुमा राष्ट्रपति ट्रम्पले होर्मुजमा इरानको नाकाबन्दी तोड्न आदेश दिएपछि तनाव चरम सीमामा पुगेको थियो ।


