४ जेष्ठ २०८३, सोमबार 1779096266
फिचर

नेसेलुङमा राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला

मोरङ – घुमन्ते जीवनशैली, आफ्नै भाषा र मौलिक संस्कृतिका कारण परिचित लोपोन्मुख राउटे समुदायलाई नजिकबाट चिनाउने उद्देश्यसहित मोरङको मिक्लाजुङ गाउँपालिका–३ नेसेलुङमा विशेष मेला सञ्चालनमा आएको छ। मेलाले स्थानीयवासी मात्र होइन, पूर्वका विभिन्न जिल्लाबाट पुग्ने आगन्तुकको ध्यान तानेको छ।

कर्णाली प्रदेशबाट आएका करिब २५ जना राउटे समुदायका सदस्यको सहभागितामा सुरु भएको मेलामा उनीहरूको परम्परागत जीवनशैली, संस्कार, भाषा र जीविकोपार्जनसँग जोडिएका गतिविधि प्रस्तुत गरिएको छ। जंगललाई जीवनको आधार मानेर घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायबारे धेरैलाई प्रत्यक्ष जानकारी नहुँदा मेला अवलोकन गर्नेमा उत्साह देखिएको छ ।

मेलाको मुख्य आकर्षण राउटे समुदायले परम्परागत रूपमा निर्माण गर्ने काठका सामग्री हुन्। उनीहरूले बनाएका भाँडाकुँडा, घरेलु सामग्री तथा सजावटका वस्तुको प्रदर्शनसँगै किनबेच पनि भइरहेको छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको उनीहरूको सीपलाई जोगाइराख्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।

नेसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार मेला एक सातासम्म सञ्चालन हुनेछ। ‘राउटे समुदायको मौलिक पहिचानबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं’,उनले भने, ‘यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ नेसेलुङ फनपार्कका सञ्चालक अशोक चेम्जोङले राउटे समुदायसँगै स्थानीय लिम्बु समुदायको संस्कृति, रहनसहन र परम्परालाई समेत उजागर गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार यस्ता कार्यक्रमले सांस्कृतिक संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ।

मेलास्थलमा विभिन्न मनोरञ्जनात्मक खेल, तमासा तथा जातीय परिकारका स्टल पनि राखिएका छन्। यसले पारिवारिक घुमघामका लागि पनि नेसेलुङलाई आकर्षक गन्तव्य बनाएको छ। पार्क निर्माणका पहलकर्ता तथा पूर्व प्रदेश सांसद कुशल साम्बाका अनुसार उक्त क्षेत्रमा देशकै पहिलो उल्टोघर, भ्यूटावर र चिल्ड्रेन पार्क निर्माण गरिएको छ। ‘पर्यटन र संस्कृतिलाई सँगसँगै अघि बढाउन सकियो भने स्थानीय स्तरमा राम्रो सम्भावना सिर्जना हुन्छ’, उनले भने।

आधुनिकताको प्रभावसँगै हराउँदै गएका मौलिक संस्कृतिको संरक्षण चुनौतीपूर्ण बनिरहेका बेला नेसेलुङमा सुरु भएको यो मेला राउटे समुदायको अस्तित्व, पहिचान र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासका रूपमा हेरिएको बताइन्छ ।