कास्की । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।
वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए । १२ वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको उनको भनाइ छ । चालकले सवारी चालक अनुमतिपत्र नलिइ चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ ।
‘मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसधान चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ’, प्रहरी निरीक्षक देवकोटाले भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारीसाधन जाँच गर्दै आएको छ ।’
सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।


