६ जेष्ठ २०८३, बुधबार 1779281534
विश्व

लेबनानमा इजरायलको आक्रमण : १९ जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै आक्रमणमा १० जनाको मृत्यु भएको छ । आक्रमणमा देइर कानौन सहरको एउटा घरलाई निशाना बनाइएको थियो । मृतकहरूमा ३ बालबालिका र तीन महिला छन् । मार्च २ मा इरान समर्थित शिया इस्लामवादी समूह हिजबुल्लाहले इजरायलमा रकेट प्रहार गर्दा लेबनान द्वन्द्वमा प्रवेश गरेको थियो ।

इरानका सर्वोच्च नेताको हत्या गर्ने संयुक्त अमेरिकी–इजरायली कारबाहीको प्रतिक्रियामा यो आक्रमण गरिएको थियो । अमेरिकाले लेबनान र इजरायलले ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको घोषणा गरेको एक हप्ताभन्दा कम समयपछि यी पछिल्ला मृत्युहरू भएका छन् । दुई पक्षबिचको वार्ता जुनको सुरुमा पुनः सुरु हुने तालिका छ ।

युद्धविरामको अवधि बढाइए पनि इजरायल र हिजबुल्लाहबिच विशेष गरी दक्षिणी लेबनानमा बारम्बार गोलीबारी जारी छ । आक्रमणमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरिरहेको दाबी इजरायलले गर्ने गरेको छ । यद्यपि, आक्रमणहरूमा महिला र बालबालिका लगायत सर्वसाधारणको पनि मृत्यु भइरहेको छ ।