६ जेष्ठ २०८३, बुधबार 1779294960
समाचार

सीमा विवादमा कुटाकुट हुँदा घाइते भएकालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए ।

आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

घाइते भएकामध्ये चार जनालाई हेलिकप्टोरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी निजी कम्पनीको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरिएको हो ।

आक्रमणमा परी घाइते भएका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । यसअघि यही जेठ ३ गते उक्त पनि दुवै पक्षबीच विवाद भएको थियो ।