९ जेष्ठ २०८३, शनिबार 1779546899
विश्व

कोइला खानीमा विस्फोट हुदा ९० जनाको मृत्यु

काठमाडौँ : चीनमा कोइला खानी विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । साे घटना उत्तरी चीनमा भएको त्यहाँकाे सरकारी मिडियाले जनाएको छ । दुर्घटना ग्यास विस्फोटका कारण भएको बताइएको छ, जुन तोङजाउ ग्रुपद्वारा सञ्चालन गरिएको लिउसेन्यु कोइला खानीमा भएको हो । यो खानी सान्जी प्रदेश मा अवस्थित छ ।

घटनास्थलमा सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको छ । सरकारी मिडियाले सार्वजनिक गरेको भिडियोमा एम्बुलेन्सहरू पृष्ठभूमिमा देखिँदै गर्दा स्वास्थ्यकर्मीहरूले स्ट्रेचर बोकेर घाइतेहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

१०० भन्दा बढी मानिसहरूलाई अस्पताल पुर्याइएको बताइएको छ र उद्धार कार्य अझै जारी छ । विस्फोट शुक्रबार स्थानीय समयअनुसार १९ः२९ बजे भएको थियो । घटनाको समयमा खानीमा २४७ जना कामदार कार्यरत थिए ।

चीन सरकारको प्रतिक्रिया

घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार र सम्भावित जीवित व्यक्तिहरूको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले घटनाको कारण अनुसन्धान गर्न र जिम्मेवारलाई जबाफदेही बनाउन पनि आदेश दिएका छन् ।

सरकारी मिडियाकाअनुसार खानी सञ्चालन गर्ने अधिकारीहरूलाई नियन्त्रणमा लिइएको छ । विस्फोटको कारण स्पष्ट भइसकेको छैन, तर प्रारम्भिक रिपोर्टअनुसार खानीभित्र कार्बन मोनोअक्साइड (अत्यन्त विषालु र गन्धहीन ग्यास) को मात्रा ‘सुरक्षित मापदण्ड भन्दा धेरै बढी’ फेला परेको छ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले ६ वटा उद्धार टोलीबाट ३४५ जना कर्मचारी घटनास्थलमा पठाएको छ । चीनको गरिब प्रान्तमध्ये एक मानिने सान्ची प्रदेश देशको कोइला खानी केन्द्रका रूपमा चिनिन्छ । सन् २००० को दशकको सुरुमा चीनको कोइला उद्योगमा घातक दुर्घटनाहरू सामान्य थिए । पछिल्ला वर्षहरूमा सुरक्षा मापदण्ड कडा बनाइए पनि यस्ता दुर्घटनाहरू अझै भइरहेका छन् । सन् २०२३ मा भित्री मङ्गोलियाको खुला खानी भत्किँदा ५३ जनाको मृत्यु भएको थियो ।

त्यस्तै,सन् २००९ मा उत्तर पूर्वी प्रान्त हेइलोङजियाङको खानी विस्फोटमा १०० भन्दा बढीको ज्यान गएको थियो । चीन विश्वकै सबैभन्दा ठुलो कोइला उपभोक्ता र हरित गृह ग्यास उत्सर्जन गर्ने प्रमुख देशमध्ये एक हो । यद्यपि त्यहाँ नवीकरणीय ऊर्जा क्षमतामा तीव्र विस्तार भइरहेको छ ।