११ जेष्ठ २०८३, सोमबार 1779691910
Banner

मापसेबाट वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ- गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
उता कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो । उहाँले विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिनुभयो । उहाँले मापसे गरी सवारी चलाउनु आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।

ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । विशेषगरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ । मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मापसे गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सम्पूर्ण चालक तथा सर्वसाधारणलाई अनुरोध गर्दै ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।”उहाँका अनुसार मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने गर्दछ । सवारी चलाउँदा पूर्ण रूपमा सतर्कता अपनाउन र ट्राफिक नियमको पालना गर्न उहाँले सबै चालकहरुलाई आग्रह गर्नु भएको छ ।