काठमाडौं । उत्तर प्रदेशको हमिरपुरमा बेतवा नदीमाथि निर्माणाधीन पुल भत्किँदा ६ जना कामदारको मृत्यु भएको छ । ६ जना भग्नावशेषमुनि फसेका छन् ।
बेतवा नदीमाथि निर्माण भइरहेको पुलको ठूलो भाग शुक्रबार बिहान अचानक भत्किँदा ६ जना कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटना हुँदा धेरै कामदारहरू पुलमुनि सुतिरहेका थिए । यी कामदारहरू बिहान उठेर पुलमा काम सुरु गर्थे । भारी वर्षा र आँधीबेहरीको कारण दुर्घटना भएको बताइएको छ ।
प्रहरी र स्थानीय बासिन्दाहरूले भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य गरिरहेका छन् ।
निर्माणस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नभएको आरोप पनि लगाइएको छ । कामदारहरूको सुरक्षामाथि प्रश्न उठिरहेको छ ।


