मकवानपुर । हेटौँडा-कुलेखानी-फाखेल सडक एक महिनाका लागि बन्द गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडकखण्ड जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको हो ।
पूर्वाधार विकास कार्यालय, हेटौँडाले निर्माण कार्यका लागि सडक बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरे अनुसार सो सडक पूर्णरुपमा बन्द गरिएको हो । सो सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सोही खण्डमा जेठ १५ गतेदेखि सडक ढलानको कार्य सुरु हुन लागेकाले सडक बन्द गर्न लागिएको हो ।
चालू आर्थिक वर्ष २०८२/८३ भित्रै काम सम्पन्न गर्नुपर्ने दबाब र सडकमा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्यमा अवरोध पुग्ने तथा जामका कारण यात्रुले सास्ती भोग्नुपर्ने देखिएकाले सडक बन्द गरिएको हो ।


