विश्वको अग्लो ठाउँ जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३, छुमजिउलोमा कालीमार्सी धान रोपिएको छ । समुद्र सतहदेखि दुई हजार ८५० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा पातारासी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाइँ गरियो । विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुमजिउलोमा स्थानीय सरकारको अगुवाइमा धान रोपाइँ गरिएसँगै किसान खुसी भएका छन् । यसै गरी जुम्लामा कालीमार्सीसँगै मार्सी धानको रोपाइँ पनि सुरु भएको छ । किसान रोपाइँमा व्यस्त छन् । यतिबेला जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाको चन्दननाथ, तातोपानी, देपालगाउँ, सिँजा, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि रैथाने कालीमार्सी र रातीमार्सीको रोपाइँ भइरहेको छ । यस जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती गरिन्छ । चिसो हावापानीमा उत्पादन हुने कालीमार्सी धानको भात बढी स्वादिलो, अडिलो र स्वस्थकर हुन्छ । कालीमार्सी धानको चामल खैरो रङको हुन्छ । खैरो देखिने भएकाले कसै कसैले यसलाई रातो चामल पनि भन्छन् । राणाकालमा हरेक दिन एक माना मार्सी धानको चामल जुम्लाबाट काठमाडौँ मगाउने गरिन्थ्यो । हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पु¥याउने गर्थे ।
धानबालीमा परिश्रम धेरै पर्छ । घेराबार र सिँचाइका लागि खटिनु पर्छ । धान रोपाइँ हुने मौसम र पाटनमा यार्चा सङ्कलनको मौसम एउटै पर्छ । रोपाइँ गर्ने कि यार्चा टिप्न जाने भनी किसान दुबिधामा पर्छन् । त्यही भएर विगतमा मार्सी धान रोपाइँमा कमी आएको थियो । अहिले भने कालीमार्सी धानको महत्व बढेको छ । यो सिँजा सभ्यताको इतिहाससँग पनि जोडिएको छ । कालीमार्सी धान लोप हुन नदिन कृषकदेखि स्थानीय सरकार, सरोकारवाला निकायलगायत यसको संरक्षणमा लागेका छन् तर जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रको कृषिमा पर्न थालेको छ । अनपेक्षित खडेरी, असन्तुलित वर्षा र तापमानमा आएको उतारचढावले कालीमार्सी धानमा विभिन्न रोग र किराको प्रकोप बढेको छ । यस समस्यालाई दृष्टिगत गरी त्यहाँको परम्परागत धान खेतीलाई आधुनिक र वैज्ञानिक प्रविधिसँग जोड्दै किसानलाई सहुलियत, सिँचाइको उचित व्यवस्था र रोग प्रतिरोधात्मक प्राङ्गारिक उपचार उपलब्ध गराउनुपर्ने भएको छ । रैथाने कालीमार्सी धानलाई अब एउटा खाद्यान्नका रूपमा मात्र होइन, नेपालको कृषि पर्यटनको आधारका रूपमा विकास गर्न सकिने भएको छ ।
जुम्लामा कालीमार्सी धानको कुल वार्षिक उत्पादन करिब तीन हजार मेट्रिक टनसम्म हुने गरेको छ । त्यहाँ दुई हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । त्यसमध्ये कालीमार्सी धानको खेती भने करिब एक हजार दुई सय हेक्टर क्षेत्रमा गरिन्छ । अत्यधिक चिसो हावापानीका कारण कालीमार्सी धानको उत्पादकत्व अन्य सुगम क्षेत्रको तुलनामा कम छ । यो प्रतिहेक्टर करिब १.८ मेट्रिक टन मात्र उत्पादन हुने गर्दछ । नेपाल कृषि अनुसन्धान परिषद्ले स्थानीय सरकारको सहयोगमा यसको बिउ शुद्धीकरण र संरक्षणका लागि निरन्तर अनुसन्धान गरिरहेको छ । वार्षिक करिब दुई सय मेट्रिक टन कालीमार्सीको चामल काठमाडौँलगायत देशका ठुला सहर र जापान तथा क्यानडा जस्ता अन्तर्राष्ट्रिय बजारमासमेत निर्यात हुने गरेको छ । अचेल कालीमार्सीको चामलले बजार पाएपछि किसानमा जागरण आएको छ । चिसो हावापानीका कारण त्यहाँ चैतदेखि कात्तिकसम्म (करिब आठ महिना) धान खेतमै रहन्छ । किसानले हरेक वर्ष चैत १२ गते कालीमार्सी धानको बिउलाई घरभित्रै कपडामा बाँधेर वा तातो ठाउँमा पानीमा भिजाएर राख्छन् । टुसाएको बिउलाई चैत २० गते ‘जाँती’ (चिसोबाट जोगाउन खर वा परालले छोपिएको ब्याड) मा छरिन्छ । ब्याडमा बेर्ना तयार भएपछि जेठको सुरुदेखि अन्त्यसम्म रोपाइँ गरिन्छ । हिमाली क्षेत्रको हिउँ पग्लिएको चिसो पानीले नै यसको सिँचाइ गरिन्छ । धान पाक्न लामो समय लाग्ने हुनाले असोजको अन्त्य वा कात्तिकको सुरुतिर मात्र धान काटिन्छ । कालीमार्सी धान अर्गानिक हुने र यसको माग उच्च रहेकाले बजारमा यो अन्य सामान्य चामलको तुलनामा महँगो पनि छ । काठमाडौँ, पोखरा जस्ता ठुला सहरमा कालीमार्सी चामल प्रतिकेजी रु. २२० देखि तीन सयसम्ममा बिक्री हुने गरेको छ । क्यानडा, जापान र अस्ट्रेलियालगायतका देशमा यो चामल निर्यात हुन थालेकाले यसको उत्पादन बढाउन जरुरी छ । यो मौलिक उत्पादनलाई व्यवस्थित गरी धेरै उत्पादन गर्ने र बजारीकरण गर्न सके त्यहाँका धेरै किसानको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । नेपालकै सान र पहिचान जोडिएको कालीमार्सी धानको संरक्षण र प्रवर्धनमा सरोकारवाला सबै लाग्नु पर्छ ।


