३० असार २०८३, मंगलबार 1784065327
फिचर

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । लगातार चारदिने बिदाको मौका पारेर यहाँ दर्शनार्थी खचाखच छन् । दर्शनार्थीको बाँक्लो उपस्थितले व्यवस्थापनमा समेत हम्मेहम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा दबाब बढेको बताउनुभयो । उहाँका अनुसार दसैँ–तिहार र चैतै दसैँबाहेक यहाँ औसतमा पाँचदेखि सात हजारसम्म धार्मिक पर्यटकले दर्शन गर्ने गरे पनि सरकारी तथा सार्वजनिक बिदा परेका कारण पछिल्लो तीन दिनयता २० हजारदेखि २५ हजारले मन्दिर दर्शन गर्ने गरेका छन् ।

“शुक्रबारदेखि मुक्तिनाथमा ठूलो सङ्ख्यामा धार्मिक पर्यटक आइरहेका छन् । भक्तजनले परिसर खचाखच भरिएर थेग्नै नसक्ने अवस्था भएकाले व्यवस्थापनका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको छ”, व्यवस्थापक भुसालले भन्नुभयो,“हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको व्यवस्थापन गर्न थालिएको छ । धार्मिक पर्यटकहरु एकैसाथ ठूलो सङ्ख्यामा आएकाले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।

भिरालो सतहमा अवस्थित मुक्तिनाथ मन्दिरको परिसर साँघुरो भएकाले पनि व्यवस्थापनमा असहज देखिएको हो । पछिल्लो समय मुक्तिनाथ मन्दिर परिसर केही फराकिलो पारिए पनि धार्मिक पर्यटकको सङ्ख्या अपेक्षाकृत वृद्धि हुँदा मन्दिर परिसरको क्षमता कम हुँदै गएको हो । समितिले दर्शन कार्यमा सहजीकरण गराउन लाइन मिलाउने, तातोपानीको व्यवस्था र लेक लाग्नबाट जोगाउन उपचारलगायतको व्यवस्था मिलाएको जनाएको छ ।

  जिल्ला प्रहरी कार्यालयले पछिल्लो तीन दिनयता २५ हजार बढी पर्यटक  भित्रिएको जनाएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शनिबार नौ हजार ८६ जना पर्यटक घाँसाबाट मुस्ताङ प्रवेश गरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ ।

पछिल्लो सयम सरकारले हप्तामा आइतबारसमेत सार्वजनिक बिदा थप गराएका कारण मुस्ताङमा पर्यटकको उपस्थिति बढ्न थालेको हो । यसपटक बिहीबारदेखि लगातार बिदा परेकाले पनि मुक्तिनाथदर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकले जिल्लाको लेतेदेखि माथि मुक्तिनाथसम्मका होटलहरू पर्यटकले भरिभराउ छन् । यहाँ होटलमा एक दिनमा १० हजार बढी पर्यटक राख्न सक्ने क्षमता छ । त्यसैले हाल बसोबासका लागि कुनै समस्या नदेखिएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । “हामीलाई बाँस पाइएन भन्ने गुनासो आएको छैन, दसैँ–तिहारको बेला केही समस्या देखिन्छ,  तर हाल पर्यटकको उपस्थिति उल्लेख्य रहे पनि होटल पाइएन भन्ने खबर आएको छैन”, उहाँले भन्नुभयो ।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक सहज हुँदै जान थालेपछि धार्मिक पर्यटकको उपस्थिति बर्सेनि वृद्धि हुन थालेको हो

मुक्तिनाथ मन्दिरसम्मको अविस्मरणीय यात्रा

मानिसको जीवनमा केही यात्राहरू केवल एउटा स्थानमा पुगेर समाप्त हुँदैनन् । ती यात्राहरूले मन, मस्तिष्क र आत्मामा गहिरो छाप छोडेर जान्छन् । कतिपय यात्राले प्रकृतिको विराटता देखाउँछन् भने कतिपयले आफ्नै अस्तित्वलाई नयाँ ढंगले बुझ्न सिकाउँछन् । मेरो जोमसोमदेखि मुक्तिनाथसम्मको यात्रा पनि यस्तै अनुभूतिले भरिएको थियो । 

हिमालको काखमा अवस्थित मुक्तिनाथ पुग्ने चाहना वर्षौंदेखि मनमा थियो । अनेक व्यस्तता र परिस्थितिका कारण त्यो इच्छा पूरा हुन सकेको थिएन । अन्ततः एउटा शुभ अवसर जुर्यो र हिमालको काखमा रहेको मुक्तिको धामतर्फ यात्रा तय भयो । हामी बिहान सबेरै पोखराबाट मुस्ताङतर्फ प्रस्थान गर्यौं । गाडीले पोखराको चहलपहल छाड्दै बिस्तारै पर्वतीय मार्ग समात्यो । अगाडि देखिने घुमाउरा सडक, तल गहिरो खोँच र छेउमै बगिरहेको कालीगण्डकीको सहायक नदीले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो ।

बेनीसम्म पुग्दा पहाडको हरियालीले मन लोभ्यायो । खेतका कान्ला, गाउँघर, झरना र जङ्गलले नेपालको प्राकृतिक सौन्दर्यलाई जीवन्त बनाइरहेका थिए । तातोपानी, दाना, घासा र लेते हुँदै माथि उक्लँदै जाँदा दृश्य विस्तारै बदलिन थाल्यो । 

हरिया वनहरू विरल भए, चट्टानी पहाडहरू देखिन थाले र हावामा हिमाली चिसोपन मिसिन थाल्यो । प्रकृतिले मानौं अर्को संसारमा प्रवेश गराउँदै थियो ।

कालीगण्डकी नदीसँगै यात्रा गर्दा मनमा एउटा विशेष अनुभूति जाग्यो । संसारकै गहिरो गल्छी मानिने यस उपत्यकाको आफ्नै इतिहास, आफ्नै महिमा छ । नदीको गर्जन सुन्दा लाग्थ्यो, यसले हजारौँ वर्षदेखि हिमालका कथा बगाइरहेको छ । 

यही नदीले बगाएर ल्याउने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिन्छ । नदी किनारमा कतिपय श्रद्धालु शालिग्राम खोजिरहेका थिए भने केही पर्यटक प्रकृतिको अनुपम दृश्यलाई क्यामेरामा कैद गरिरहेका थिए ।

यात्राको क्रममा कहिले उकालो, कहिले ओरालो, कहिले साँघुरो सडक र कहिले विशाल उपत्यका देखिन्थ्यो । कठिन सडक भए पनि प्रकृतिको सौन्दर्यले यात्राको थकान महसुस हुन दिएन ।

साँझतिर हामी जोमसोम पुग्यौं । समुद्री सतहबाट करिब २,७०० मिटर उचाइमा रहेको यो हिमाली बजार निकै व्यवस्थित र शान्त लाग्यो । यहाँ पुग्नेबित्तिकै चिसो हावाले स्वागत गर्यो । वरिपरि नाङ्गा पहाड, माथि नीलो आकाश र टाढा सेता हिमालहरू—सबै दृश्यले मनलाई मोहित बनायो ।

जोमसोमको एउटा विशेषता यसको तीव्र हावा हो । स्थानीयका अनुसार दिउँसो कालीगण्डकी उपत्यकाबाट तीव्र हावा चल्ने भएकाले बिहानको समय यात्रा गर्न सबैभन्दा उपयुक्त हुन्छ । साँझपख भने बजार शान्त देखिन्थ्यो । थकाली समुदायका ढुंगाले बनेका घर, साना ठूला होटल, कफी पसल र स्थानीय हस्तकलाले हिमाली जीवनको सुन्दर चित्र प्रस्तुत गरिरहेका थिए ।

जोमसोमका स्थानीय होटलमा थकाली खाना परिचित छ । ढिँडो, दाल, साग, स्थानीय अचार, फापरको रोटी र तातो सुपले चिसो मौसममा अद्भुत स्वाद दिन्छ । होटल सञ्चालकहरुका अनुसार यहाँको जीवन सहज छैन । कठोर मौसम, सीमित कृषि र दुर्गम भूगोलका बाबजुद उनीहरूले आफ्नो संस्कृति र आतिथ्यलाई जोगाइराखेका छन् ।

भोलीपल्ट हामी मुक्तिनाथ दर्शन गर्न निस्क्यौं । जोमसोमबाट मुक्तिनाथतर्फ लाग्दा कागबेनी पुगिन्छ । कालीगण्डकी र जोङ खोलाको संगममा रहेको यो पुरानो बस्ती मुस्ताङको प्रवेशद्वार मानिन्छ ।

उचाइ बढ्दै जाँदा सास केही गाह्रो भए पनि मनको उत्साहले पाइला रोकेन । बाटोभरि पहाड र सिमित मात्रामा देखिएका हिमालका मनोरम दृश्यले यात्रालाई सहज बनाइरहेका थिए । 

मन्दिर परिसर नजिक पुग्दा घण्टीको आवाज, मन्त्र उच्चारण र श्रद्धालुहरूको भीडले वातावरणलाई पवित्र बनाएको थियो । मन्दिर पुग्नुभन्दा अगाडिसम्म सुनेको मुक्तिनाथ आँखाअघि उभिएको थियो ।

मन्दिर परिसरमा रहेका १०८ धाराबाट हिमाली मुहानको पानी निरन्तर बगिरहेको थियो । ती धारामुनि स्नान गर्ने श्रद्धालुहरूको अनुहारमा श्रद्धा र आनन्द दुवै झल्किन्थ्यो । मैले पनि चिसो पानीको प्रवाहलाई आत्मसात् गरेँ । केही सेकेन्डमै शरीर कठ्याङ्ग्रियो, तर मनमा अवर्णनीय शान्ति भरियो । त्यसपछि दुईवटा पवित्र कुण्डमा स्नान गरेर भगवान् श्रीविष्णुको दर्शन गरेँ ।

मन्दिरभित्रको शान्त वातावरणले मनलाई गहिरो रूपमा छोयो । आँखाहरू आफैँ बन्द भए । कुनै विशेष माग्ने इच्छा जागेन । केवल यही अनुभूति भयो—मानिसले जीवनभर खोज्ने शान्ति बाहिरभन्दा पनि आफ्नै अन्तरमनमा लुकेको हुन्छ ।

मन्दिर परिसरमै रहेको ज्वालामाई मन्दिर पुग्दा प्रकृतिको अर्को अद्भुत चमत्कार देख्न पाइयो । पानीमाथि निरन्तर बलिरहेको प्राकृतिक ज्वाला देख्दा विज्ञान र आस्था एकै ठाउँमा उभिएका जस्ता लागे । यही कारण मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका लागि समान श्रद्धाको केन्द्र बनेको रहेछ ।

दर्शन सम्पन्न गरेर जोमसोमतर्फ फर्कंदै गर्दा मनमा एक प्रकारको मिठो पीडा थियो । शरीर तल झर्दै थियो, तर मन भने अझै मुक्तिनाथकै आँगनमा थियो । कालीगण्डकीको गर्जन सुन्दै लाग्यो—प्रकृति कहिल्यै बोल्दैन, तर उसका सन्देश सबैभन्दा गहिरा हुन्छन् ।

मुक्तिथान दर्शन गरेर हामीले मार्फामा आएर खाना खायौं । मार्फामा एक छिन रोकिदा  लाग्यो, मानौं कुनै चित्रकारले अत्यन्त मिहिनेतका साथ एउटा गाउँ कोरेका छन् । ढुंगाले छापिएका साँघुरा गल्ली, सेता घर, रङ्गीन झ्याल, स्याउका बगैंचा र बौद्ध गुम्बाले गाउँलाई अनुपम बनाएका छन् । मार्फा नेपालभर आफ्नो स्याउका लागि प्रसिद्ध छ । 

फर्किएपछि धेरैले सोधे—“मुक्तिनाथ कस्तो लाग्यो ?“ मैले उत्तर दिन शब्द खोजिरहेँ । किनकि मुक्तिनाथलाई केवल सुन्दर, भव्य वा पवित्र भनेर मात्र वर्णन गर्न सकिँदैन । त्यो अनुभूति शब्दभन्दा धेरै माथिको कुरा रहेछ ।

आज पनि आँखा बन्द गर्दा जोमसोमको चिसो हावा, मार्फाका स्याउ बगैंचा, कागबेनीका पुराना गल्ली, कालीगण्डकीको गर्जन, १०८ धाराको चिसो स्पर्श र मुक्तिनाथको दिव्य वातावरण मनमा एकपछि अर्को गर्दै उभिन्छन् । त्यो यात्रा केवल मुक्तिनाथसम्म पुग्ने यात्रा थिएन; त्यो आफ्नै अन्तरमनसम्म पुग्ने यात्रा थियो ।

जीवनमा धेरै गन्तव्य पुग्न सकिएला, धेरै दृश्य देखिएलान्, तर जोमसोमदेखि मुक्तिनाथसम्मको यो यात्रा सधैं मेरो स्मृतिको सबैभन्दा उज्यालो पानामा अंकित रहनेछ । हिमालले दिएको शान्ति, प्रकृतिले दिएको ऊर्जा र मुक्तिनाथले दिएको आध्यात्मिक अनुभूतिले यो यात्रालाई अविस्मरणीय बनाएको छ । 

साँच्चै, मुक्तिनाथ पुगेर मैले केवल एउटा मन्दिरको दर्शन गरिनँ, मैले प्रकृतिको विराटता, संस्कृतिको गहिराइ र आत्मिक मुक्तिको एउटा झलक देखेँ । यही नै यस यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।