३ भदौ २०८३, बुधबार 1787163173
समाचार

बैतडीमा जिप दुर्घटना, दुई जना घाइते

काठमाडौँ : बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका-३ स्थित कुकुडेपानी क्षेत्रको भित्री कच्ची सडकमा दुर्घटनामा परेको हो। दुर्घटनापछि उक्त जिप करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनामा जिप चालक पुर्चौडी नगरपालिका-९ तल्लादेही निवासी ३० वर्षीय कर्णबहादुर बोहरा र सोही नगरपालिका-८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये चालक बोहराको अवस्था गम्भीर रहेको छ।

दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।