२७ जेष्ठ २०८३, बुधबार 1781092066
राजनीति

देशविरुद्धका घातलाई सामान्य ठान्न ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारका पछिल्ला गतिविधिमाथि टिप्पणी गर्दै ‘जान्नेलाई छान्ने’ भन्ने नाराको व्यवहारिक रूप भ्रष्टाचार, पक्षपात र स्वेच्छाचारितामा परिणत भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले ‘जान्नेलाई छान्ने’ भनिए पनि त्यसको वास्तविकता एकपछि अर्को गर्दै उजागर भइरहेको बताए ।

पोखरेलले देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने, राज्यविरुद्धका विध्वंसात्मक अपराधलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने, स्वार्थमा आधारित ‘सेटिङ’लाई विधिका रूपमा स्थापित गर्ने तथा अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने लगायतका विषय सामान्य नभएको उल्लेख गरे ।

पोखरेलले जिम्मेवारीमा बसेकाले अवैध धनको स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने, आफ्ना निकट व्यक्तिलाई उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउने प्रवृत्ति बढेको टिप्पणी गरे ।

‘यदि यही कुरालाई ‘जान्नेलाई छान्ने’ भनिएको हो भने यो योग्यता होइन, पाखण्ड हो,’ पोखरेलले लेखेका छन् ।

महासचिव पोखरेलले यस्तो प्रवृत्तिलाई स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूपको संज्ञा दिएका छन् ।

‘स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो । सुशासन र तीव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै बिर्साउने कूकार्य नयाँका नाममा कदापी उचित मान्न सकिँदैन ।’ पोखरेलले भने ।