रामेछाप : काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ। घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, रोशीकी २० वर्षीया विष्णुडाल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मानव तामाङ, ३४ वर्षीय गोइयासिं तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ र ‘सुवास’ भनिने थप पहिचान नखुलेका ५–६ वर्षका एक बालक रहेका छन्।
त्यस्तै, एक वर्षकी बालिका र ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। बस नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा दुर्घटनामा परेको थियो।


