२९ जेष्ठ २०८३, शुक्रबार 1781301130
Banner

रास्वपाका नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ: महामन्त्री बुर्लाकोटी

पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयमित, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन्।

रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उनले पार्टी स्थापनाको छोटो अवधिमै देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी काँधमा आएको उल्लेख गर्दै संगठनलाई अझ व्यवस्थित, परिपक्व र अनुशासित बनाउनुपर्ने आवश्यकता औँल्याए ।

‘अधिवेशनहरूले नीति र नेतृत्वलाई खार्दै लैजान्छन् । हामी महाधिवेशनको तयारीमा छौँ, बृहत्तर पार्टी निर्माणको अभियानमा छौँ। एक समय हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ । अब धेरै कुरामा संयम अपनाउनुपर्छ। हामी संयमित रहन सक्यौँ भने पार्टी कहिल्यै कमजोर हुँदैन’, उनले भने ।

महामन्त्री बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्तिका लागि स्थापना गरिएको पार्टी नभएको स्पष्ट गर्दै यो सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको बताए । देशको भविष्य निर्माण गर्ने उद्देश्यले पार्टीमा आबद्ध भएकाले सबैले आफ्नो जिम्मेवारीको दायराभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

उनले इमानदार र सक्षम कार्यकर्तालाई पार्टीले सधैँ उचित जिम्मेवारी दिने उल्लेख गर्दै अधिवेशनबाट जिम्मेवारी नपाए पनि योग्य व्यक्तिहरूलाई विधिसम्मत रूपमा काम गर्ने अवसर प्रदान गरिने बताए ।

कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारबीच कुनै समस्या नरहेको दाबी गरे । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहबीच जिम्मेवारी बाँडफाँट गरी पार्टी संगठन र सरकार सञ्चालनलाई व्यवस्थित बनाइएको उनले बताए ।

पराजुलीले रास्वपाको लामो राजनीतिक इतिहास नभए पनि राष्ट्र निर्माणको स्पष्ट उद्देश्यसहित पार्टी अघि बढिरहेको उल्लेख गरे।त्यसैगरी, प्रतिनिधिसभा सदस्य तथा पार्टी सचिवालय सदस्य सागर ढकालले देशलाई कायापलट गर्ने मूल लक्ष्यका साथ पार्टी स्थापना भएको भन्दै पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषय नबनाउन कार्यकर्तालाई आग्रह गरे।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशका ६४ पालिका, ५५५ वडा तथा नौवटै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। अधिवेशनमा ७३५ प्रतिनिधिको सहभागिता रहेको छ। अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्ने कार्यतालिका तय गरेको छ।