काठमाडौ / सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म अन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा शुक्रबार अचानक प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।

प्रयोगकर्ताहरूले फेसबुकमा लगइन गर्न नसक्ने, पोस्ट तथा सामग्री लोड नहुने र प्लेटफर्ममा पहुँच अवरुद्ध भएको गुनासो गरेका छन्। समस्या सुरु भएसँगै सेवा अवरोधको निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टर मा हजारौँ उजुरी एकैपटक दर्ता भएका थिए। अत्यधिक सङ्ख्यामा गुनासो आएपछि उक्त वेबसाइटसमेत केही समय प्रभावित भएको बताइएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार समस्या फेसबुकमा मात्र सीमित नभई इन्स्टाग्राम र थ्रेड्समा पनि देखिएको छ। यसले मेटाको समग्र सेवा संरचनामै कुनै प्राविधिक गडबडी भएको हुन सक्ने अनुमान गरिएको छ।
स्थानीय समयअनुसार बिहान ७ः३० बजेसम्म ४० हजारभन्दा बढी प्रयोगकर्ताले समस्या सम्बन्धी प्रतिवेदन दर्ता गरिसकेका थिए। तर, सेवा अवरुद्ध हुनुको वास्तविक कारणबारे मेटाले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
सेवा प्रभावित भएपछि धेरै प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालमार्फत समस्याबारे जानकारी आदानप्रदान गरिरहेका छन्। प्राविधिक विज्ञहरूका अनुसार मेटाका सेवामा यति ठूलो स्तरको अवरोध विरलै देखिने भएकाले यसलाई गम्भीर प्रणालीगत समस्या हुन सक्ने रूपमा हेरिएको छ।


