काठमाडौं । असार ७ देखि ९ गतेसम्म चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनअघि वडा, पालिका, जिल्ला हुँदै प्रदेशस्तरसम्मका अधिवेशन सम्पन्न गर्दै पार्टीको सम्पूर्ण ध्यान अहिले केन्द्रीय महाधिवेशनमा केन्द्रित भएको छ ।

रास्वपाका केन्द्रीय महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। पार्टीले देशभरका ४ हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी छ । त्यसैगरी, अधिवेशन प्रक्रिया सुरु भएर विभिन्न कारणले स्थगित भएका जिल्लामा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन्।
रास्वपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको जनाएको छ। मधेस प्रदेशको अधिवेशन हाल स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ।
पार्टीले चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनलाई भव्य र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।


