काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट काण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। आफूहरूले सुरूदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गरे। सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उनको भनाइ थियो।
आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको तर त्यसमा कानुनी विधि-प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको सभापति थापाको भनाइ थियो। नेपाली कांग्रेसको नियमित संवाद शृंखला ‘ग्रिन टेबल’ मा बोल्दै सभापति थापाले पासपोर्ट काण्डबारे छानबिन सुरू भएकोमा सन्तोष व्यक्त गर्दै यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए। ‘पासपोर्ट काण्डबारे छानबिन सुरू भएको भन्ने थाहा भयो, यो छानबिन हुनैपर्छ,’ सभापति थापाले भने, ‘तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ।’


