असार ८ गते । आइतबार रातिको अविरल वर्षासँगै पहिरो झर्दा ताप्लेजुङको सावादिनमा आधा दर्जन घरमा क्षति पुगेको छ । फक्ताङ्लुङ गाउँपालिका –१ सावादिनको तेम्बुङ टोलमा पहिरोले तीन घरमा क्षति गरेको हो ।
सावादिनका वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार अविरल वर्षाका कारण बस्ति माथिदेखि झरेको पहिरोले स्थानीय गणेश कटुवाल, दुर्गा लिम्बू र सोमबहादुर लिम्बूको घरमा क्षति गरेको हो । त्यस्तै, पहिरोले स्थानीय नरेन्द्र लिम्बूको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने अन्य दुई घरमा आंशिक क्षति पुगेको छ ।
रातको समयमा पहिरो झरेको भए पनि मानवीय क्षति भने हुन नपाएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । वर्षाको सम्भावना अझै रहेकाले तेम्बुङ टोलका बासिन्दा अहिले सुरक्षित घर तथा ठाउँ रोजेर बस्दैआएको बताइएको छ । यता पहिरोले गरेको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
यस्तै, वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा कतिपय ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सिदिङ्वा गाउँपालिका –४ साब्लाखुस्थित होइराँगे खोल्सामा माथिबाट झरेको पहिरोले पाँचथरको थर्पु–साब्लाखु सडक आइतबार दिनैभर अबरुद्ध बनेको थियो ।
उक्त अवरुद्ध सडक सिदिङ्वा गाउँपालिकाको जेसिभी मेसिन प्रयोग गरी पहिरो हटाएर साँझपछि खुलाएको साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रमा पनि वर्षाका कारण पहिरो र ढिस्को झरेर सडकहरु अवरुद्ध हुँदैआएको र सम्बन्धित स्थानीय तहहरुले पहिरो पन्साएर अवरुद्ध भएका सडकहरु खुलाउने गरेका बताइएको छ ।


