काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्। चार वर्षअघि पार्टी सभापति रवि लामिछानेले २१ जनाको समूहबाट पार्टी स्थापना गरेको पार्टीको सदस्य पाँच लाख नाघेको उनको भनाइ छ।
अर्थमन्त्री समेत रहेका उनले भनेका छन्, ‘चार वर्षअघि सभापति रवि लामिछानेले जम्मा २१ जनाको अपरिचित समूह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नु भयो। आज सदस्य सङ्ख्या पाँच लाख नाघी भीमकाय बनेको दलको प्रथम राष्ट्रिय महाधिवेशन ऐतिहासिक त रह्यो नै, सोचेभन्दा जटिल पनि बन्न पुग्यो।’
उनले पहिलो अनुभवबाट सिक्दै, सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले थपेका छन्, ‘नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरू सबैलाई हार्दिक बधाई। म प्रति अगाध स्नेह र भरोसा राखी सर्वाधिक लोकप्रिय मतसहित (८८ प्रतिशत) केन्द्रीय सदस्य एवं निर्विरोध उपसभापति चयन गरिइदिनुभएकोमा तमाम प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दछु।’


