२५ असार २०८३, बिहिबार 1783594524
विश्व

इजरायललाई रहम इमानुएलको चेतावनी- अब नि:शर्त अमेरिकी सहायता हुँदैन

अमेरिकी डेमोक्र्याट नेता तथा सन् २०२८ को राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेदवार रहम इमानुएलले इजरायलले अब अमेरिकाबाट बिना सर्तको आर्थिक तथा सैन्य सहयोगको अपेक्षा गर्न नहुने बताएका छन् । तेल अभिभ विश्वविद्यालयमा दिएको सम्बोधनमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिको आलोचना गर्दै इजरायल–अमेरिका सम्बन्धलाई नयाँ ढंगले पुनःपरिभाषित गर्नुपर्ने बताएका हुन् ।

इमानुएलले इजरायलले पश्चिम किनारामा बस्ती विस्तार, गाजामा मानवीय सहायता अवरुद्ध गर्ने प्रयास तथा क्षेत्रीय तनाव बढाउने कार्यले विश्व समुदायमा आफ्नो छवि कमजोर बनाएको बताए । उनले यस्ता गतिविधिलाई अमेरिकाले बिना सर्त समर्थन गर्न नसक्ने स्पष्ट गर्दै अवैध बस्ती विस्तारमा संलग्न व्यक्ति, अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि राखे ।

उनको अभिव्यक्तिलाई डेमोक्र्याटिक पार्टीभित्र इजरायलप्रतिको बदलिँदो दृष्टिकोणको संकेतका रूपमा हेरिएको छ । हालै सार्वजनिक सर्वेक्षणहरूमा अधिकांश डेमोक्र्याट समर्थकले अमेरिका इजरायलप्रति अत्यधिक समर्थक रहेको धारणा व्यक्त गरेका छन् । विश्लेषकहरूका अनुसार इमानुएलको यो अभिव्यक्ति सन् २०२८ को अमेरिकी राष्ट्रपति निर्वाचनलाई लक्षित राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ ।