काठमाडौं । असार २५, Academy of Innovation for Economic Development -ACAIED Nepal_ले नेपालको पुँजी बजारको विकास तथा सुधारका लागि तयार गरेको “नेपालको पुँजी बजार विकास तथा सुधारका लागि प्रमुख नीतिगत सुझावहरू” शीर्षकको कार्यकारी अवधारणापत्र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षलाई हस्तान्तरण गरेको छ । ACAIED नेपालका बोर्डका प्रतिनिधिहरूले अध्यक्षसँग भेट गरी पुँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा लगानीमैत्री बनाउन आवश्यक १० बुँदे नीतिगत सुझाव प्रस्तुत गरेको हो । अवधारणापत्र संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा थप नीतिगत लचकता, नयाँ वित्तीय उपकरणहरूको विकास, लगानीकर्ता संरक्षण, डिजिटल पूर्वाधारको आधुनिकीकरण, बजार तरलता अभिवृद्धि तथा दीर्घकालीन पुँजी बजार विकास रणनीति कार्यान्वयनका विषयलाई प्राथमिकता दिइएको छ ।

अवधारणापत्र ग्रहण गर्दै सेबोन अध्यक्षले नयाँ आर्थिक वर्षका लागि आवश्यक नीतिगत सुधार तथा नियामकीय व्यवस्था तयार गर्ने चरणमा बोर्ड रहेको जानकारी दिए । उनले लगानीका अधिकांश आधारहरू सकारात्मक रहे पनि बजारले अपेक्षित गति लिन नसकेको विषयमा बोर्ड गम्भीर रूपमा काम गरिरहेको बताए । “स्थिर सरकार, पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण भएको अर्थमन्त्री तथा सुधारोन्मुख नीतिगत वातावरण लगायत लगानीका लागि आवश्यक आधारहरू अनुकूल छन् । यस्तो अवस्थामा पनि बजार अपेक्षा अनुसार अघि बढ्न नसकेको विषयको विश्लेषण गर्दै आवश्यक सुधार अघि बढाइरहेका छौं,” अध्यक्षले भने । उनले पुँजी बजारमा देखिएका विकृति, अनियमितता तथा अस्वस्थ अभ्यासहरू हटाउने दीर्घकालीन अभियान बोर्डले सञ्चालन गरिरहेको उल्लेख गर्दै “हामी अहिले पूँजी बजारका दीर्घकालीन समस्याको उपचार गर्ने औषधि तयार गरिरहेका छौं । बजारलाई स्वस्थ, पारदर्शी र विश्वसनीय बनाउने हाम्रो प्राथमिकता हो । यी सुधारहरू कार्यान्वयनसँगै बजारले सकारात्मक दिशा लिने विश्वास लिएका छौं,” भने ।
ACAIED नेपालका प्रबन्ध निर्देशक दुर्गा थापाले प्रस्तुत नीतिगत सुझावहरूले नेपालको पुँजी बजारलाई थप विश्वसनीय, गतिशील तथा लगानीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता सुझावहरू आगामी नीतिगत सुधार प्रक्रियामा समावेश हुने अपेक्षा व्यक्त गरिन ।

