२८ असार २०८३, आइतबार 1783853237
समाचार

बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उद्धारका लागि शनिबार बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई नेपालगन्ज पुर्‍याएको हो। हेलिकप्टरले दुई–दुई जनाका दरले पालैपालो घाइतेलाई उद्धार गरेको प्रहरीले जनाएको छ।

नेपालगन्ज लगिएका घाइतेमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता र केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्।

दुर्घटनापछि उनीहरूलाई उद्धार गरेर शनिबार राति जिल्ला अस्पताल बझाङ पुर्‍याइएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

घटनापछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ पुगे पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको थियो। त्यसपछि हेलिकप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो। राति ढिलो गरी घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याइएपछि आइतबार गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको हो।