काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’ को संज्ञा दिँदै उनलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन्। सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा नगरेको दाबी समेत उनले गरे।
सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाए। साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उनको जिकिर छ।
शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होमहरूमाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा गम्भीर असर पर्ने बताए। सरकारका कारण मुलुकमा परेको असरबारे चर्चा गर्दै बैठकमा ठाकुरले भने, ‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन्। दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्।’
यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको भन्दै उनले सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न नसक्ने स्पष्ट पारे। उनले थपे, ‘नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ।’ वर्तमान प्रशासनले संगठित संस्थाहरूलाई निषेध गर्न खोजेको आरोप लगाउँदै ठाकुरले भने, ‘यो सरकारले ट्रेड युनियन, विद्यार्थी संगठनलाई खारेज गरेको छ। यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ, त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन।’
अर्गनाइजेसनलाई आक्रमण गरेर खत्तम पारेपछि के गर्न खोजेको हो भन्दै उनले प्रश्न गरे। उनले थपे, ‘आफ्नो संगठन बनाउने हो कि आफ्नो स्वतन्त्र के भन्ने उनलाई? नेपाली डिक्टेटर, नेपाली हिटलर। नेपाली हिटलर भइसकेको छ, उनले जे बोल्छ त्यही ठीक हो, जे गर्छ त्यही कानुन हो।’ यस प्रकारको कार्यशैलीले देशलाई गलत धरातलतर्फ लगिरहेको उनको भनाइ छ।

