१ श्रावण २०८३, शुक्रबार 1784290546
Banner

अर्थमन्त्रीलाई बाइपास गर्दै अघि बढे प्रधानमन्त्री बालेन, आज जुत्ता उद्योगीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बाइपास गर्दै आर्थिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित विषयमा आफै प्रत्यक्ष सक्रियता बढाएका छन् ।

यसैक्रममा प्रधानमन्त्री साहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, आयात प्रतिस्थापन, आत्मनिर्भर उत्पादन, उद्योगीले भोगिरहेका समस्या तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि सभा सदस्य विदुषी राणाको सहभागिता रहनेछ ।

यसअघि पनि प्रधानमन्त्री शाहले निर्माण व्यवसायी, ऊर्जा उद्यमी, उद्योगी तथा निजी क्षेत्रका विभिन्न प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ती अधिकांश भेटमा अर्थमन्त्री वाग्लेलाई सहभागी गराएनन् ।

पछिल्लो बैठकलाई पनि त्यही श्रृंखलाको निरन्तरताका रूपमा हेरिएको छ । उद्योग, लगानी, कर, राजस्व र उत्पादनसँग प्रत्यक्ष सम्बन्धित विषयमा प्रधानमन्त्री आफैं अग्रसर हुनु र अर्थमन्त्रीको उपस्थिति नदेखिनुले सरकारभित्र तिक्तता प्रष्टै देखिन थालेको छ ।