१ श्रावण २०८३, शुक्रबार 1784290665
Banner

साउन सुरु भएसँगै हरियो चुरा र मेहेन्दी लगाउनेको घुँइचो

काठमाडौं – साउन लागेसँगै बजारमा हरियो चुरा पोते र मेहन्दी लगाउनेको भीड देखिएको छ ।

साउनमा हरियो पोते, चुरा र कपडासँगै मेहेन्दी लगाइन्छ । साथै साउनमा सोमबार ब्रत पनि बसिन्छ । बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ । विशेषगरी विवाहित महिलाले साउन महिनाभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएकाले यस समयमा श्रृंगार सामग्रीको व्यापार पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

हिन्दु परम्पराअनुसार साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ । विवाहित महिलाहरूले पति तथा परिवारको सुख, समृद्धि, दीर्घायु र पारिवारिक कल्याणको कामना गर्दै हरियो चुरा, पोते तथा हरिया पहिरन धारण गर्ने चलन रहिआएको छ ।

त्यसैले मेहेन्दी र चुरा हिजोआज सबैजसो महिलाको रोजाइमा पर्न थालेको छ । साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका महिला दिदी बहिनीहरु ले हरियो चुरा, मेहेन्दी लगाएको देखिन्छ । अरु महिनाको तुलनामा साउनमा शृङ्गारका सामान निकै बिक्री हुने व्यापारीहरू बताउँछन् । साउनको पहिलो दिनदेखि नै बजारमा रहेका ब्युटी पार्लरहरुमा मेहन्दी लगाउनेको भीड बढिरहेको छ । बालकोटस्थित प्रभा ब्युटी सलुनमा यतिबेला मेहन्दी लगाउन भ्याइ नभ्याइ छ । साउनमा कतिपय रहरले त कतिपय श्रीमानको आयु लामो हुने विश्वासका साथ हरियो चुरा र मेहन्दी लगाउन पार्लर आउने गरेको सञ्चालिका प्रभा चौलागाई बताउँछीन । हरियो मेहन्दीले हातमा शितलता प्रधान गर्नुका साथै सौन्दर्यमा थप निखार आउने उनको भनाइ छ । उनको पार्लरमा रु १०० देखि १२ हजार सम्मको मेहन्दी लगाउने गरेको प्रभा बताउँछीन । मेहन्दी लगाउन ग्राहकको चहल पहल बढेपछि आम्दानीपनि राम्रो हुन थालेको उनको भनाइ छ ।

विवाहित महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै साउने सोमबार व्रत पनि बस्ने गरेका छन् भने अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहेन्दी लगाउँछन् । साउनको सोमबार शिव मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ ।

पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाले यसलाई बढी महत्वका रुपमा लिने गर्छन् । माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्ति भएको विश्वास गरिन्छ ।

त्यही विश्वासका आधारमा साउनमा हरियो पहिरिँदा भगवान् शिव खुसी हुने धार्मिक मान्यता रहिआएको छ । हरियो रङ प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक ऊर्जाको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ । शास्त्रमा प्रकृतिलाई ईश्वरका रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयु बढ्ने विश्वास छ ।

विवाहित महिलाले मेहेन्दी, हरियो चुरा लगाउँदा उनीहरुको सुन्दरता बढ्ने र श्रीमान्–श्रीमतीको सम्बन्ध प्रगाढ हुने बताइन्छ । चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ भने मेहेन्दीले पनि स्वास्थमा फाइदा पु¥याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाइ र ज्वरोको समस्या नआउने मान्यता रहिआएको छ । नङको सौन्दर्यता बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ ।