काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेश सरकार बनाउने विषयमा काँग्रेस सहमत नरहेको बताएका छन् ।
ललितपुरमा आज आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले अहिले तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव आएको तर यो नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुने बताएका हुन् । कांग्रेस सिद्धान्तमा सम्झौता नगर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले एउटा प्रस्ताव आइरहेको छ- तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ, हामीले भन्यौं, गलत यो हुँदैन, यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ । बागमती सरकार के हुन्छ भनेर साथीहरूले यहाँ सोध्नुभएको छ, कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन।’
कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको हो,’ थापाले भने।

