३ श्रावण २०८३, आइतबार 1784522908
Banner

प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्‌लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।

वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्पबारे बहस गर्नुपर्ने उनको प्रस्ताव छ।

दलित, महिला, र जनजाति लगायतका उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष तर्फ नै निश्चित क्षेत्रहरू आरक्षित गर्ने उपाय अपनाउन सकिने उनको भनाइ थियो।

सङ्घीयतालाई थप प्रभावकारी बनाउन केन्द्रमा रहेका कतिपय अधिकार र स्रोतहरू प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिनुपर्नेमा थापाले जोड दिए । थापाले कांग्रेसले देशलाई कुनै पनि प्रकारको द्वन्द्व वा राजनीतिक दुर्घटनामा जान नदिन जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।

संविधान संशोधन जस्तो गम्भीर विषयमा सबै राजनीतिक शक्तिहरूबिच व्यापक सहमति र तथ्यपरक बहस आवश्यक रहेको उनको भनाइ थियो।