काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगातार बाइपास गर्दै प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आर्थिक क्षेत्रसँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन् । पछिल्ला दिनमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, ऊर्जा उद्यमी तथा विभिन्न आर्थिक क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्रीको सहभागिताबिनै छलफल गर्दै आएका प्रधानमन्त्री साहले सोमबार पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग पनि उच्चस्तरीय बैठक बोलाएका छन् । सरकारभित्र अर्थमन्त्रीको भूमिका कमजोर बनाउने र राजनीतिक दबाब बढाउने रणनीति हो कि भन्ने चर्चा सत्ता वृत्तमा चुलिएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ बजे हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रिया राज रेग्मी तथा अम्बिकाप्रसाद पौडेल सहभागी हुने कार्यक्रम छ ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीले आर्थिक नीतिसँग प्रत्यक्ष सम्बन्धित यस्ता बैठकहरूमा अर्थमन्त्रीलाई निरन्तर सहभागी नगराउनुको राजनीतिक अर्थबारे भने सत्ता र राजनीतिक वृत्तमा विभिन्न विश्लेषण भइरहेका छन् ।

