५ श्रावण २०८३, मंगलबार 1784625567
समाचार

११६ यात्रु बोकेको डुङ्गा दुर्घटना

काठमाडौं : दक्षिण अमेरिकी राष्ट्र गुयानाको उत्तरी एटलान्टिक तटीय क्षेत्रमा ११६ जना यात्रु बोकेको एउटा यात्रुवाहक डुङ्गा समुद्रमा पल्टिएर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनालगत्तै सुरु गरिएको व्यापक उद्धार अभियानका क्रममा हालसम्म १५ जना बालबालिकासहित ६७ जनालाई सकुशल उद्धार गरिएको छ भने बाँकी बेपत्ता यात्रुहरूको खोजी कार्य तीव्र पारिएको छ।

समाचार एजेन्सीहरूका अनुसार ‘एमभी बारिमा’ (नाम गरेको सो यात्रुवाहक डुङ्गा गुयानाको राजधानी जर्जटाउनबाट पोर्ट क्याटुमातर्फ जाँदै थियो। यात्राका क्रममा पोमेरुन नदी नजिकै यो दुर्घटना भएको हो। राति करिब ११ बजे आपतकालीन सन्देश प्राप्त हुनासाथ सरकारी निकायहरूले तुरुन्तै उद्धार अभियान सुरु गरेका थिए। उद्धार कार्यमा सरकारी टोलीका साथै निजी डुङ्गाहरूको पनि सहयोग लिइएको छ।

प्रशासनका अनुसार हालसम्म कुनै पनि यात्रुको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन। त्यसैले उद्धार टोलीको सम्पूर्ण ध्यान बेपत्ताहरूको जीवितै उद्धार गर्ने कार्यमा केन्द्रित गरिएको छ। उद्धार गरिएका यात्रुहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गर्नका लागि तटीय क्षेत्रमा विशेषज्ञ चिकित्सक तथा मेडिकल टोलीहरू तैनाथ गरिएको छ।

गुयानाका सार्वजनिक निर्माण मन्त्री जुआन एडघिल का अनुसार ‘एमभी बारिमा’ डुङ्गामा सुरक्षाका पर्याप्त उपायहरू अपनाइएका थिए। दुर्घटनाका बखत डुङ्गामा २५० वटा लाइफ ज्याकेटका साथै दुईवटा बलिया ‘लाइफ राफ्ट’ र छ वटा हावा भर्ने उद्धार डुङ्गाहरू उपलब्ध थिए।

सुरक्षाका यति राम्रा प्रबन्धहरू हुँदाहुँदै पनि यो ठूलो दुर्घटना कसरी हुन पुग्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक चरणमा दुर्घटनाको स्पष्ट कारण खुल्न सकेको छैन। उद्धार अभियान पूर्ण रूपमा सम्पन्न भएपछि मात्र प्रशासनले घटनाको विस्तृत र गहिरो छानबिन गर्ने जनाएको छ। उता बेपत्ता यात्रुका आफन्तहरू भने उद्धार टोलीको सूचनाको पर्खाइमा तटीय क्षेत्रमा भेला भएका छन्।