५ श्रावण २०८३, मंगलबार 1784654000
समाचार

बारामा अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा १ जनाको ज्यान गयो, चालक पक्राउ

बारा । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सोमबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अचानक अनियन्त्रित भई सडकछेउमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए । उनलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा राति १२ः५० बजे मृत्यु भएको बारा प्रहरीका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

दुर्घटनामा सोही स्थानका ५० वर्षीय देवनारायण चौधरी पनि घाइते भएका छन् । उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकातर्फको पर्खाल भत्किएको छ । दुर्घटनापछि सडक यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।