काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगातार बाइपास गर्दै प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आर्थिक क्षेत्रसँग प्रत्यक्ष संवादमा सक्रिय छन् ।
पछिल्ला दिनहरुमा आर्थिक क्षेत्रका प्रतिनिधिहरुसँग अर्थमन्त्रीको सहभागिताबिनै छलफल गर्दै आएका प्रधानमन्त्री साहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल बिहान ११ः३० बजेबाट सुरु हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन् ।
छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्री साहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएका छन् ।
तर आर्थिक नीतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने छलफलमै प्रधानमन्त्री साहले अर्थमन्त्री वाग्लेलाई सहभागी नगराउनुले उनीहरुबीच दूरी बढेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ ।

