५ श्रावण २०८३, मंगलबार 1784666430
समाचार

भारतबाट विराटनगरसम्म कार्गो रेल सेवाको औपचारिक रुपमा शुभारम्भ

विराटनगर । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट बिराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको रेल बिराटनगरमा आएसंगै मंगलबार दुवै देशका अधिकारीहरुले एक कार्यक्रमकाबीच कार्गो रेलको सेवाको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० साल जेठ १८ गते उद्घाटन गरेयता कार्गो रेल बिराटनगर आउन सकेको थिएन ।

मोरङको नेमुवा स्थित स्वस्तिक आयल इण्डष्ट्रिजले मगाएको तोरी बोकेका ४० वटा कन्टेनर बोकेको कार्गो रेल नेपाल भंसार यार्डसम्म आएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।

कार्गो रेलबाट ढुवानी गर्दा ढुवानी लागत २५ देखि ३० प्रतिशत घट्ने, कोलकाता बन्दरगाहबाट विराटनगर सम्म २४ घण्टामा सामान आईपुग्ने र बाटोमा सामान चोरी हुने समस्या निराकरण हुने भएकाले अन्य क्षेत्रका उद्योगहरु संग प्रतिस्पर्धा गर्न सहज हुने यस क्षेत्रका उद्योगी व्यवसायीहरुले बताए ।

भारत सरकार अन्तर्गतको कन्कोर अर्थात कन्टेनर कर्पोरेशन अफ इण्डिया लिमिटेडको कार्गाे रेलबाट सोमवार एनसिवाई अर्थात नेपाल कस्टमयार्डसम्म ४० वटा कन्टेनर बोकेका मालवाहक रेल आएको थियो । कन्कोरका प्रतिनिधि सञ्जीव साहले हप्तामा दुइ दिन कोलकाताबाट विराटनगर सम्म कार्गो रेल संचालन गर्ने र यसलाई आवश्यकता अनुसार बढाउदै लैजाने जानकारी दिए ।

पारवहन सन्धीको प्रोटोकल संशोधन पछि विराटनगरको एकीकृत जाँच चौकी स्थित नेपाल कस्टम यार्ड सम्म कार्गो रेल आएको हो । कार्गो रेल संचालनपछि विराटनगर आएको कन्टेनर खाली र्फकने भएकाले यहाँबाट वस्तु निर्यातमा पनि सहजता आउने उद्योगी व्यवसायीहरुले बताएका छन् ।