६ श्रावण २०८३, बुधबार 1784732022
समाचार

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नदेखिएको भन्दै प्रहरीले प्रारम्भिक अनुसन्धान टुंग्याएको हो।

काठमाडौं महानगरपालिका–२६ नरदेवी स्थायी घर भएका श्रेष्ठ हाल परिवारसँग कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान करिब ११ः२० बजे उनले बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुगेका थिए।

प्हरीका अनुसार उनले सडकबाट केही पर रहेको खाली स्थानमा कार रोकेपछि गाडीभित्रै आगो लागेको थियो। घटनास्थल नजिक रहेका एक स्थानीयले धुवाँ र आगो देखेपछि कारको ढोका खोल्ने प्रयास गरेका थिए। तर, आगोको ताप अत्यधिक भएकाले उनको हातसमेत पोलिएपछि उनी पछि हट्न बाध्य भएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरले संयुक्त रूपमा गरेको अनुसन्धानपछि श्रेष्ठले आफैं आगो लगाएर आत्मदाह गरेको निष्कर्ष निकालिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले हालसम्मको अनुसन्धानमा घटनामा अन्य व्यक्तिको संलग्नता पुष्टि हुने कुनै आधार नभेटिएको बताए। आगलागी नियन्त्रणमा लिएपछि प्रहरी टोलीले चालक सिटमै श्रेष्ठको शव फेला पारेको थियो।

अनुसन्धानका क्रममा श्रेष्ठ लामो समयदेखि औषधि व्यवसायमा संलग्न रहेको र कोरोना महामारीपछि व्यवसायमा ठूलो आर्थिक क्षति बेहोरेपछि ऋणको भार बढ्दै गएको खुलेको प्रहरीले जनाएको छ। आर्थिक समस्याका कारण उनी पछिल्लो समय गम्भीर मानसिक तनावमा रहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानले आर्थिक संकट र त्यसबाट उत्पन्न मानसिक दबाबका कारण उनले यस्तो कदम चालेको देखिएको छ। यद्यपि, घटनाका सबै पक्षबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिनेछ। अनुसन्धानका क्रममा उनले प्रयोग गरेको कार २०६२ सालमा नबिल बैंकबाट ऋणमा खरिद गरिएको र यातायात व्यवस्था विभागको अभिलेखमा उक्त सवारी सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।