काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवर्द्धन, नीतिगत सुधार र नियामकीय व्यवस्थाबारे विस्तृत छलफल हुनेछ ।
मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३ सम्बन्धी व्यवस्थाका साथै शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाको सुझावसमेत संकलन गरिनेछ ।
शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आएको मन्त्रालयले जनाएको छ ।

