९ श्रावण २०८३, शनिबार 1784978764
समाचार

दिल्लीमा १८ वटा मेट्रो स्टेसन बन्द, मदिरा पसलहरू राति ८ बजेपछि बन्द

काठमाडौं । भारतमा आन्दोलनरत युवाहरुको संगठन कक्रोच जनता पार्टी (सिजेपी)का संस्थापक अभिजित दीपकेले मोदी सरकारले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई बचाउन राजधानी नयाँ दिल्लीको जनजीवन कष्टकर बनाएको आरोप लगाएका छन् ।

उनले दिल्ली प्रहरीले जन्तर मन्तरलाई जेलमा परिणत गरेको टिप्पणी गरे । नीट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा आन्दोलनरत सिजेपी र सरकारबीच तेस्रो चरणको वार्ता आज हुँदैछ ।

त्यसअघि सिजेपीका संस्थापक अभिजित दीपकेले सरकारले शिक्षामन्त्री प्रधानलाई बचाउन दिल्लीको जनजीवन कष्टकर बनाएको टिप्पणी गरेका हुन् ।

सिजेपीका अनुसार अनुसार, दोस्रो चरणको वार्तामा सरकारले आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई जनही १ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र प्रदर्शनकारीहरूविरुद्ध दर्ता गरिएका मुद्दाहरू फिर्ता लिन सहमति जनाएको छ ।

यसैबीच, जारी आन्दोलनकाबीच सुरक्षाका कारण देखाउँदै दिल्ली मेट्रो रेलले आज बिहान ७ः३० बजेदेखि अर्को आदेश नभएसम्म १८ वटा मेट्रो स्टेसनहरू बन्द रहेको घोषणा गरेको छ । यसमा प्रधानमन्त्रीको निवास क्षेत्र साथै जनपथ, सर्वोच्च अदालत, राजीव चोक र पटेल चोकका स्टेसनहरू समावेश छन् । साथै, दिल्लीमा मदिरा पसलहरू पनि राति ८ बजेपछि बन्द हुने भएको छ ।