काठमाडौं । बुद्ध एयरले आफ्नो फ्लाइटविस्तार गर्दै नयाँ पुस्ताको एटीआर–७२–६०० विमान नेपाल भित्र्याएको छ । फ्रान्सको तुलुसबाट ९एन–एओएस कलसाइन भएको उक्त विमान ल्याइएको हो। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा भएपछि आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ एटीआर–७२–६०० पूर्ण ग्लास ककपिट, आधुनिक एभियोनिक्स, डिजिटल फ्लाइट म्यानेजमेन्ट सिस्टम FMS तथा उन्नत नेभिगेशन र सुरक्षा प्रणालीले सुसज्जित छ। अघिल्ला मोडेलको तुलनामा कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत मानिन्छ।

यस विमानमा आरएनपी–एआर Required Navigation Performance–Authorization Required प्रविधि जडान गरिएको छ। यो प्रणालीमार्फत काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर दृश्यता (भिजिबिलिटी) हुँदा पनि सुरक्षित रूपमा अवतरण गर्न सकिने बुद्ध एयरले जनाएको छ।
हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआर आधारित उडान प्रक्रिया लागू गर्ने तयारी गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब २,००० मिटर दृश्यतामै बुद्ध एयरका एटीआर–७२–६०० विमानले सुरक्षित उडान तथा अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।
अहिले प्रयोगमा रहेको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) अनुसार पोखरा विमानस्थलमा अवतरणका लागि करिब ३,१०० मिटर तथा काठमाडौं र भैरहवामा १,६०० मिटर दृश्यता आवश्यक पर्छ। नयाँ प्रविधिको प्रयोगले खराब मौसमका कारण हुने उडान ढिलाइ, डाइभर्सन र रद्द हुने समस्या घट्ने कम्पनीको विश्वास छ।
फ्लाइट थप विस्तार गर्ने तयारी
बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर अर्को एउटा एटीआर–७२–६०० विमान पनि भित्र्याउने तयारी गरेको छ। त्यसपछि केही महिनाभित्र यही सिरिजका थप दुई विमान ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।
हाल कम्पनीसँग १ वटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र नयाँ भित्रिएको एटीआर–७२–६०० सहित कुल १७ वटा एटीआर विमान सञ्चालनमा छन्। नयाँ विमान थपिँदै जाँदा बुद्ध एयरको सेवा क्षमता, उडान सुरक्षा र नियमितता अझ सुदृढ हुने कम्पनीको अपेक्षा छ।
एटीआर–७२–६०० किन विशेष?
विश्वका क्षेत्रीय हवाई सेवामध्ये सबैभन्दा लोकप्रिय टर्बोप्रोप विमानमध्ये एक मानिने एटीआर–७२–६००मा करिब ७० देखि ७४ यात्रु बोक्ने क्षमता हुन्छ। कम इन्धन खपत, न्यून कार्बन उत्सर्जन, आधुनिक डिजिटल ककपिट र उच्चस्तरीय नेभिगेशन प्रणालीका कारण यो विमान विशेषगरी हिमाली तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका विमानस्थलका लागि उपयुक्त मानिन्छ।
नयाँ विमान भित्रिएसँगै बुद्ध एयरले नेपाली आकाशमा आधुनिक प्रविधियुक्त, सुरक्षित र भरपर्दो हवाई सेवा विस्तार गर्ने आफ्नो रणनीतिलाई थप मजबुत बनाएको छ।

