सुर्खेत । असार ३२ गतेदेखि सत्ता सङ्कटमा परे पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले संसदीय दलको बैठक बोलाएका थिएनन् । कांग्रेस—नेकपाले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
उक्त अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजेतिर प्रदेश सभामा छलफल हुनेछ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश बैठक बोलाइएको छ । कँडेलले सभा बस्नुअघि १ बजेतिर संसदीय दलको बैठक बोलाएका छन् ।
अहिले एमाले संसदीय दलको बैठक बसिरहेको एक सांसदले बताए । कांग्रेस र नेकपा हालसम्म पनि कँडेलविरुद्ध उभिएकाले उनको सरकार गुम्ने निश्चित जस्तै छ ।
यद्यपि, अझै पनि कँडेल केन्द्रको निर्णय कुरिरहेका छन् । केन्द्रमा ओली र प्रचण्डबिच भेट भइरहेकाले केही निर्णय आउन सक्ने प्रतीक्षामा मुख्यमन्त्री रहेको उनी निकट स्रोतले बतायो ।
यदि केन्द्रबाट कुनै निर्णय नआएको खण्डमा र नेकपाले आफ्नो अडान यथावत् राखेमा कँडेलले कि संसदबाट राजीनामा दिनेछन् नभए मतदान मार्फत सत्ता गुमाउने छन् । नेकपाको १४ र कांग्रेसको १५ सिट रहेको छ । कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ ।

