काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आईजीपी बर्खास्तीको पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन् ।
चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहने बताएका हुन् ।
उनले भने, ‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ। त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला। सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला।’
सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो नमिलाउने उनको भनाइ छ ।
उनले अगाडि भने, ‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन। पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन। सरकारका निर्णयमा आवश्यक पर्दा पार्टीले फरक धारणा राख्ने र थप स्पष्टता माग्ने गर्छ।’

