काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास शिलालेख गायब भएको विषयमा व्यापक आलोचना भएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका बेला राखेको शिलालेख खोजेर पुनर्स्थापना गरिने बताएका छन् ।
सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख हराएको विषयबारे आफूले जानकारी लिएको बताउँदै त्यसलाई खोजेर पुनः यथास्थानमा राखिने स्पष्ट पारे ।
तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका थिए । तर उक्त शिलालेख गायब बनाइएको भन्दै विभिन्न राजनीतिक वृत्त र सामाजिक सञ्जालमा प्रश्न उठेको थियो ।
उद्घाटनपछि मन्त्री लम्सालले नेपाल सुरुङमार्ग निर्माणको नयाँ युगमा प्रवेश गरेको दाबी गरे । उनले देशका विभिन्न भागमा अब यस्ता सुरुङमार्ग निर्माण हुने उल्लेख गर्दै, “यो सुरुङले हामीलाई धेरै कुरा सिकाएको छ । अब देशभर यस्ता टनेल बन्छन्, नेपाल टनेल युगमा प्रवेश गरेको छ,” भने ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङमार्ग हो । मुख्य सुरुङ २.६८८ किलोमिटर र सहायक सुरुङ २.५५७ किलोमिटर लामो रहेको छ ।

