११ श्रावण २०८३, सोमबार 1785162466
Banner

सुनसरी तनावग्रस्त : कर्फ्यु उल्लंघन गर्दै स्थानीयको प्रदर्शन, बख्तरबन्द गाडीसहित सेना सडकमा

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा कर्फ्यु आदेश जारी रहेकै अवस्थामा स्थानीयबासीले प्रदर्शन जारी राखेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कर्फ्यु जारी गरिएको स्थानमा सेना परिचालन गरिएको जानकारी दिए ।

सेनाले बख्तरबन्द गाडीसहित सडकमा गस्ती सुरु गरेको हो । प्रशासनले आज बिहानबाट देवानगञ्जसहित पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

तर गएराति प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोधमा स्थानीयले कर्फ्यु उल्लंघन गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । ठूलो संख्यामा प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शन रोकिएको छैन ।

प्रहरीका अनुसार प्रदर्शनकारीले टायर बालेर विरोध जनाउनुका साथै एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड गरेका छन् । गएराति दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट एक युवकको ज्यान गएको थियो ।