काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । मंगलबार दिउँसो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा धनकुटा, बारा, ललितपुर, काठमाडौँ, पाल्पा र अछाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडकखण्डमा विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेट (ट्रक)को ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको थियो। दुर्घटनापश्चात् अचानक आगलागी हुँदा भोजपुर घर भएका ३० वर्षीय चालक विशाल राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाराको कलैया उपमहानगरपालिका–१७ ब्रम्हपुरीस्थित भित्री सडकखण्डमा ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा कलैया–३ का १५ वर्षीय चालक सोयब मन्सुरको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको छ ।
ललितपुरको महाँकाल गाउँपालिका–२ कटन् भन्ज्याङस्थित गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको एसओएस बालग्राम सानोठिमी भक्तपुरको बीएए ४६३९ नम्बरको स्कर्पियो गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका काठमाडौँ कोटेश्वरका ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ पानीट्याङ्कीस्थित आरुबारीबाट जगडोल जाने सडकखण्डमा बा.प्र.०२–०३६ प ४८४१ नम्बरको स्कुटर चिप्लिएर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा ३२ वर्षीय पुरुषको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
पाल्पाको तानसेन नगरपालिका–१२ गाईघाट नजिकै पाल्पा–गुल्मी सडकखण्डमा ईट्टा लोड गरेको लु २ ख २४४७ नम्बरको टिपर ओरालोमा ब्रेक फेल भई पल्टिँदा बागलुङ घर भएका २६ वर्षीय सहचालक तेजेन्द्र कुमालको मृत्यु भएको छ।
अछामको कमलबजार नगरपालिका–२ जुगेपानीस्थित भित्री कच्ची सडकखण्डमा कमलबाजारबाट गैरीताँडतर्फ जाँदै गरेको सु.प.प्र.००१ ह ८४४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको छ । अटोमा सवार ४ जनामध्ये कमलबजार–५ का बेलु भण्डारीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार कोशीमा २२, मधेशमा ३९, काठमाडौं उपत्यकामा १७, बागमतीमा ८, गण्डकीमा १, लुम्बिनीमा २८, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १४३ जना सवारी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था र उपचारका विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन ।

