१३ श्रावण २०८३, बुधबार 1785358601
अर्थ

नेपाल मोबिलिटी एक्स्पो–२०२६ को सम्पूर्ण तयारी पूरा, केके हुनेछ मेला ?

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था (नाइमा) ले आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोजकका अनुसार प्रदर्शनीका लागि आवश्यक सबै योजना सम्पन्न भइसकेको छ भने अब कार्यान्वयन मात्रै बाँकी छ।

शारडा ग्रुपका निर्देशक तथा नाइमा एक्सपोका संयोजक गौरव शारडाले स्पोन्सर तथा प्रदर्शक सबै शतप्रतिशत सहभागी भइसकेको जानकारी दिँदै यस वर्षको एक्स्पो आकार, सहभागी ब्रान्ड र व्यापारिक सम्भावनाका हिसाबले नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुने बताए ।

‘हाम्रो सम्पूर्ण योजना र तयारी पूरा भइसकेको छ। अब कार्यान्वयन मात्रै बाँकी छ। स्पोन्सर र एक्जिबिटर सबै शतप्रतिशत अनबोर्ड भइसकेका छन्,’ उनले भने। उनका अनुसार साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा प्रविधि सार्वजनिक गरिनेछ। पेट्रोल, विद्युतीय (ईभी) तथा हाइब्रिड सवारीका नयाँ मोडल एउटै छानामुनि अवलोकन गर्न सकिने उनले बताए।

गौरवका अनुसार यसपटक प्रदर्शनीलाई केवल व्यापारिक मेला मात्रै नभई ज्ञान आदान–प्रदानको थलोका रूपमा पनि विकास गरिएको छ। नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा दैनिक ‘लर्निङ सेसन’ सञ्चालन हुनेछ, जहाँ सडक सुरक्षा, ब्याट्री व्यवस्थापन, इथानोल ब्लेन्डिङ, सीप विकास तथा मोबिलिटी क्षेत्रका समसामयिक विषयमा अन्तर्राष्ट्रिय तथा स्वदेशी विज्ञले प्रस्तुति दिनेछन्।

‘हामीले प्रत्येक दिन निःशुल्क लर्निङ सेसन राखेका छौं। विदेशी तथा नेपाली विज्ञ, सरकारी निकाय र उद्योगका प्रतिनिधिबीच हुने छलफलबाट प्राप्त सुझावलाई दस्तावेज बनाएर सम्बन्धित सरकारी निकायमा पनि बुझाउनेछौं,’ उनले बताए।

गत वर्ष पार्किङ र खाद्य स्टल व्यवस्थापनबारे आएका गुनासोलाई यसपटक सुधार गरिएको उनले जानकारी दिए। नेपाल पुलिस क्लबको पार्किङ क्षेत्र प्रयोग गरिने, राइड–सेयरिङ साझेदारमार्फत आगन्तुकलाई सहुलियत भाडा उपलब्ध गराइने तथा खाद्य परिकारको विविधता बढाइएको उनले बताए।

‘गत वर्ष आएका सुझावलाई हामीले गम्भीर रूपमा लिएका छौं। पार्किङ, फुड स्टल र आगन्तुकको सुविधामा उल्लेखनीय सुधार गरेका छौं। हाम्रो उद्देश्य हरेक उमेर समूहका आगन्तुकका लागि केही न केही आकर्षण हुने वातावरण बनाउनु हो,’  उनले भने।

उनले एक्स्पोमा बैंक तथा बीमा कम्पनीले पनि विशेष अफर ल्याउने जानकारी दिँदै ग्राहकले विभिन्न ब्रान्डका अफर र वित्तीय सुविधा एउटै स्थानमा तुलना गर्न सक्ने बताए।

कर परिवर्तनबारे बोल्दै गौरवले केही विद्युतीय सवारीमा कर बढे पनि केही मोडलमा कर घटेको उल्लेख गरे।

‘कर परिवर्तन मात्रै हेरेर ग्राहक गाडी किन्ने निर्णय गर्दैनन्। जसलाई गाडी किन्नु छ, उहाँहरू एक्स्पोमा आएर सबै विकल्प तुलना गर्न सक्नुहुन्छ। ३५ लाख रुपैयाँभन्दा कम मूल्यका केही गाडीमा कर घटेको छ भने केही उच्च क्षमताका ईभीको मूल्य पनि कम भएको छ,’ उनले भने।

गौरवले यस वर्षको नेपाल मोबिलिटी एक्स्पोलाई नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको रूपमा प्रस्तुत गर्दै सबैलाई अवलोकन गर्न आग्रह गरे।

‘५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लञ्चसहित यो नेपालकै सबैभन्दा ठूलो मोबिलिटी एक्स्पो हुनेछ। एउटै छानामुनि नेपालमा उपलब्ध अधिकांश मोबिलिटी समाधान हेर्न र अनुभव गर्न सकिनेछ,’ उनले भने।