विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश र जयप्रकाश मेहताका परिवार शव बुझ्न सहमत भएका छन्। मोरङ प्रहरीको समन्वयपछि शव बुझाउने प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख कविद् कट्टुवालले जानकारी दिए।
यसअघि सरकारसँग सहमति भए पनि सिरहाको गोलीकाण्डमा मृत्यु भएका गणेश यादवका परिवारसँग समेत सरकारले सम्झौता गर्नुपर्ने माग राख्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए। उनीहरू विराटनगरबाट पुनः सुनसरी फर्किएका थिए।
प्रहरीको पहलपछि फेरि शव बुझ्न सहमति जुटेको हो। आवश्यक मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। शव बुझिसकेपछि पोस्टमार्टम गरी आजै अन्त्येष्टि गर्ने तयारी छ।
गत आइतबार दुई समुदायबीचको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। अर्का घाइते जयप्रकाशको उपचारका क्रममा मृत्यु भएको थियो।

